नेपाली यू–१९ क्रिकेट टोलीले मंगलबार अभ्यास खेलमा भारतको विजय
धहिया क्रिकेट क्लबलाई ६ विकेटले हराएको छ । नयाँदिल्लीको सेन्ट स्टेफेन मैदानमा धहिया
क्लबले पहिलो ब्याटिङ गर्दै ४७.४ ओभरमा १ सय ७० रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले
२७.२ ओभरमा चार विकेटको नोक्सानीमा १ सय ७२ रन बनाएको थियो । यसै महिनाको अन्त्यतिर मलेसियाको क्वालालम्पुरमा हुने आइसिसी यू–१९ विश्वकप क्रिकेट
छनोटको पूर्वसन्ध्यामा नेपाली टोलीले भारतमा अभ्यास खेल खेलेको हो । नेपालको जितमा
ओपनर सन्दीप सुनारले सर्वाधिक ५४ रनको योगदान दिएका थिए । सन्दीपले सुनील धमलासँग पहिलो
विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए । सुनीलले १४ बलमा दुई चौकाको सहयोगमा १४
रन बनाए । सन्दीपले शंकर रानासँग दोस्रो विकेटका लागि ३३ रन जोड्दै नेपाललाई ६४–२ को
स्थितिमा पुर्याए । शंकरले १६ बलमा १७ रनको योगदान दिए । सन्दीपले कप्तान राजु रिजालसँग
तेस्रो विकेटका लागि सर्वाधिक ६९ रनको साझेदारी गरे । नेपालले सन्दीपलाई तेस्रो विकेटका
रूपमा गुमाएको थियो । सन्दीपले ६२ बलमा नौ चौका प्रहार गरेका थिए । अन्तिमसम्म आउट
नभएका राजुले ५३ बलमा चार चौका र एक छक्का प्रहार गर्दै ४५ रनको योगदान दिए । यसअघि
पहिलो ब्याटिङ गरेका धहिया क्लबका ब्याट्सम्यानले नेपाली बलरको सामना गर्न सकेनन् ।
दीपेश श्रेष्ठ, प्रेम तामाङ र दीपेन्द्र ऐरीले समान दुई विकेट लिँदा घरेलु टोलीको ब्याटिङ
कमजोर बन्यो । धहियाका लागि विवेक रानाले सर्वाधिक ४५ रन जोडेका थिए । उनले ७८ बलमा
तीन चौका र एक छक्का प्रहार गरे । नेपालको कसिलो बलिङ आक्रमणमा प्रियान्सु विजयरामले
२३ बलमा तीन चौका प्रहार गर्दै २० रनको योगदान दिए । सो ब्याटिङ इनिङमा चार ब्याट्सम्यानले
दोहोरो अंक पनि बनाएनन् । धहिया क्लबका विजयराम नयाँदिल्लीको टी–२० रणजी ट्रफीबाट खेल्ने
गर्छन् । यसैगरी, विवेक नयाँदिल्लीकै यू–१९ र यू–२३ का खेलाडी हुन् । अमृतपाल सिंह
नयाँदिल्लीको राज्यस्तरीय खेलाडी हुन् । उनले नेपालविरुद्ध १४ रन जोडे ।
खबर क्रिकेटको
- Blog Comments
- Facebook Comments


